मनहरी । तपाईं पत्याउनु हुन्छ ? पहिला मनहरीमा नेपालकै उत्कृष्ट रक्सीको भट्टी चलाइएको थियो । त्यो सरकारकै तजबिजमा थियो । अत्यन्त मगमग बास आउने मदिरा उत्पादन हुन्थ्यो ।
हो, कैलाश गाउँपालिकाका पूर्वअध्यक्ष टंक मुक्तानले फेसबुकमा यसलाई उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘विशेषगरी नेपालको तराई र भित्री मधेशका जंगलमा पाइने मौवा (महुवा) एक महत्वपूर्ण बहुउपयोगी वनस्पति हो । मौवाको फूलः मौवाको फूल निकै गुलियो र पौष्टिक हुन्छ । तराईका आदिवासी तथा थारु समुदायका मानिसले झरेको फूल संकलन गरेर सुकाउने गर्दछन् । यसबाट हलुवा, पुरी, लड्डु लगायतका मीठा परिकारहरू बनाइन्छन् ।’
उनले भनेका छन्, ‘मौवाको सुकेको फूल कुहाएर र प्रशोधन गरेर स्थानीय स्तरमा शक्तिवर्धक मानिने मादक पदार्थ (रक्सी) महूली पनि भनिछ, बनाउने प्रचलन परापूर्वकालदेखि रहिआएको बताएका छन् । स्थानीय अग्रजहरुको भनाई अनुसार झण्डै ५५–६० वर्षअघि हालको मनहरी गाउँपालिका वडा नं ७ मनहरी बजार आसपास मौवाको सुकेको फुललाई प्रशोधन गरी मौवाको फूलको रक्सी बनाउने ठूलो मदभट्टी थियो ।’
मुक्तानका अनुसार, सरकारकै अनुमतिमा भारतीय ठेकेदारले मदभट्टी सञ्चालन गर्थे । अहिले पनि मनहरी गाउँपालिकाको आसपास जङ्गलमा प्रशस्त मात्रमा मौवाको रुख पाइने भएकाले त्यहाँ मदभट्टी सञ्चालन गरेको भन्ने पुष्टि पनि हुनछ । मौवाको फूल र दाना टिप्न रुखै ढाल्ने गर्दा करिब १२–१५ वर्षमै त्यस भेगका सबै मौवाका रुख समाप्त भएको भनिन्छ । बहुउपयोगी वनस्पति मौवाको उचित संरक्षण बिना नै विदेशी ठेकेदारलाई जङ्गल नै जिम्मा लगाउँदाको परिणाम अहिले मौवा लोप हुने अवस्थामा पुगेको मुक्तानले उल्लेख गरेका छन् ।
यस विषयमा थप सामग्रीहरु आगामी दिनमा प्रस्तुत गर्नेछौँ ।

Leave a Comment