हेटौँडा । बागमती प्रदेशमा अपराधको संख्या घटेको र आरोपी तथा अभियुक्त पक्राउको क्रम पनि बढेको पाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी मातहतका प्रहरी प्रमुखहरुसँग गरेको कार्यसम्झौताका अवसरमा प्रस्तुत तथ्यांकले प्रदेशमा प्रहरीको सक्रियता बढेको देखिएको छ ।
कार्यक्रममा शान्ति सुरक्षा, प्रहरी कार्य, प्रशासनिक गतिविधि तथा अपराध अनुसन्धानबारे समीक्षा भएको थियो । शान्ति सुरक्षा तथा प्रहरी कार्यमा १५ प्रतिशत वृद्धि भएको बताइएको छ ।
यस्तै, बागमती प्रदेशमा सवारी दुर्घटना र मानवीय क्षति १७.२९ प्रतिशत कमी भएको पाइएको छ । दुर्घटनाहरुमा मानवीय क्षति १०.५८ प्रतिशत कमी भएका छन् ।
अपराध अनुसन्धानमा ५ हजार ७ सय ८४ आरोपी र अभियुक्त नागरिकमध्ये ८६ प्रतिशत पक्राउ परेका छन् । चोरी तथा डाँकाका मुद्दामा प्रहरीले ९६.३६ कसुर फर्स्यौट भएको बताइएको छ ।
पेण्डिङमा रहेका पुराना मुद्दाहरुमा २४.०४ प्रतिशत सफलता मिलेको बताइएको छ । यस्तै, फैसला कार्यान्वयनमा २० प्रतिशत पक्राउ गर्ने लक्ष्यमा ३९.३० प्रतिशत सफलता मिलेको बताइएको छ । यसक्रममा प्रहरीले २ह जार २ सय ४२ जना पक्राउ गरेको छ ।
समीक्षापछि बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी प्रमुखहरुसँग आर्थिक वर्ष २०८३–८४ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बागमती प्रदेश अन्तर्गतका बागमती प्रदेश प्रहरी तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय ९ (रसुवा बाहेक), नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बागमती प्रदेश प्रहरी गण हेटौँडा, बागमती प्रदेश प्रहरी अस्पताल, बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडासहित १५ वटा कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता भएको हो ।
तालिम केन्द्रको लागि २१, जिल्ला प्रहरी कार्यालयका लागि ५२, ट्राफिकको लागि २०, गणका लागि १७, बागमती प्रदेश प्रहरी अस्पतालका लागि १८, बागमती प्रदेश प्रहरी विद्यालयका लागि १७ र बागमती प्रदेश विपद व्यवस्थापन गुल्मको लागि १२ वटा वार्षिक कार्यसम्पादन क्रियाकलाप प्रदान गरिएको छ ।



Leave a Comment