मनहरी- सीप सिकौँ, उद्यमी बनौँ भन्ने मूल नाराका साथ पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ र ५ को आयोजनामा स्थानीय युवाहरूलाई प्रदान गरिएको ३० दिने बारिष्टा तालिमको आज एक कार्यक्रमबीच समापन गरिएको छ ।
दुवै वडाका २०/२० जना गरी कुल ४० जना युवाहरूले तालिममा सहभागिता जनाएका थिए । वडाले आफ्नो सिलिङ बजेटबाट सञ्चालन गरेको उक्त तालिमको उद्देश्य युवाहरूलाई व्यावसायिक सीप प्रदान गरी स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ ।
तालिम दिने तथा सहजीकरण हेटौँडा–४ स्थित जे एन्ड बी बारिष्टा एकेडेमीले गरेको थियो । एकेडेमीका सञ्चालक जगदिश बिडारी र प्रशिक्षक हस्ता गुरुङको उपस्थितिमा सहभागी युवाहरूलाई ३० दिनसम्म बारिष्टासम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो ।
समापन कार्यक्रम मनहरी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दीपेन्द्र अधिकारीको सभाध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष सीता पुलामी मगरले युवाहरूलाई सीप र दक्षतासँग जोड्नु आजको आवश्यकता रहेको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न आग्रह गरिन् । उनले स्थानीय तहले युवाको क्षमता विकास र रोजगारी सिर्जनाका लागि यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।
सभाध्यक्ष तथा वडा नम्बर ५ का अध्यक्ष दीपेन्द्र अधिकारीले तालिम लिएर प्रमाणपत्रमा मात्र सीमित नभई सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे । उनले युवाहरूलाई आफ्नै ठाउँमा स्वरोजगार बन्ने अवसर सिर्जना गर्न वडाले बजेट विनियोजन गरेर तालिम सञ्चालन गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, अतिथि तथा मनहरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रीनले युवाहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्न सक्ने बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक क्षेत्रमा अघि बढ्न सहभागीहरूलाई शुभकामना दिए ।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर २ का सचिव साजन लामा, वडा नम्बर ५ का सचिव विदुर पाठक, बागीभुगोल मिडियाका कार्यकारी सम्पादक मदन जङ्ग गम्भीरलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन मनहरी गाउँपालिका वडा नम्बर ५ का सचिव विदुर पाठकले गरेका थिए ।


Leave a Comment