हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टी (उनेपा)ले विशेष भेला तथा ‘उज्यालो संवाद’ कार्यक्रम गरेको छ । कार्यक्रमसँगै सोलाभन्ज्याङको सिंगो गाउँ नै उज्यालो नेपाल पार्टीमय बनेको पार्टीले सम्प्रेषण गरेको समाचारमा उल्लेख छ ।
कार्यक्रमबारे जानकारी गराउँदै उज्यालो नेपाल पार्टी भीमफेदी पालिका कमिटी सदस्य प्रबिन गोम्जाले ‘उज्यालो संवाद’ मार्फत स्थानीय बासिन्दामाझ पार्टीको विचार र एजेण्डा पुगेपछि सिङ्गो गाउँ नै उज्यालोमय बनेको र उत्साहजनक सहभागिता देखिएको बताए ।
समृद्धिको मार्गचित्र र हरित क्रान्तिमा जोड
आयोजित कार्यक्रममा अतिथि तथा वक्ताहरूले उज्यालो नेपाल पार्टीको समृद्धिको स्पष्ट मार्गचित्र र ‘हरित क्रान्ति’का अवधारणाबारे स्थानीयलाई प्रष्ट पारेका थिए । कार्यक्रमका क्रममा नयाँ सदस्यहरूलाई सदस्यता वितरण, पार्टीको नीति तथा दृष्टिकोणबारे प्रशिक्षण र वैचारिक अन्तरक्रिया समेत गरिएको थियो ।
संवादमार्फत राजकुमार गोम्जाको अध्यक्षतामा ९ सदस्यीय सोलाभन्ज्याङ टोल कमिटी गठन गरिएको छ । गठित टोल कमिटीको अध्यक्षमा राजकुमार गोम्जा र सचिवमा सबिना घिसिङ चयन भएका छन् ।
यसैगरी, वडास्तरीय गतिविधि र समन्वयका लागि वडा प्रतिनिधिहरूको समेत छनोट गरिएको छ । सुशीला घिसिङ, नरेश तामाङ, प्रशान्ति लामा, सोमबहादुर पाख्रिन, र सुनिता प्रजालगायतका चयन भएका छन् ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका बागमती प्रदेश कमिटी सदस्य बद्री स्याङतान, भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष आशिष अस्लामी, पालिका कमिटी सदस्यहरू राजिब तामाङ, प्रबिन गोम्जा, र दिनेश राना मगर लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति थियो ।
स्थानीय स्तरमा प्रत्यक्ष संवाद, टोल कमिटी विस्तार र वडा प्रतिनिधि छनोटसँगै भीमफेदीमा उज्यालो नेपाल पार्टीले आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ।






Leave a Comment