...
Latest News
Hetauda

राप्रपामा गुटबन्दी गर्नेलाई नेतृ खुशी कार्कीको खबरदारीः रुवाबासी बन्द गर्नुहोस् ! (भिडियो)

राप्रपामा गुटबन्दी गर्नेलाई नेतृ खुशी कार्कीको खबरदारीः रुवाबासी बन्द गर्नुहोस् ! (भिडियो)

हेटौँडा । राप्रपा मकवानपुरकी नेतृ खुशी कार्कीले पार्टीका नेताहरुलाई साझा नेतृत्व निर्माणमा लाग्न आग्रह गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै एजेन्डा साथ पाए माओवादी र प्रचण्डसँग सहकार्य गर्ने तर होटलमा गुटका भेला बोलाएर आफ्नै पार्टीका नेताहरुको उछितो काढ्ने र रुवाबासी गर्ने काम बन्द गर्न आग्रह गरेकी हुन् । उनले भनेकी छन्, ‘गुटउपगुटमा बाँडिने र कार्यकर्ता भाँडिने क्रम रोकेर सबै मिल्नुहोस् ।’

कार्कीले राप्रपाका पुराना नेताहरु डा. प्रकाशचन्द्र लोहनी, कमल थापा र विक्रम पाण्डेको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै राष्ट्रवादी शक्तिहरु एकठाउँमा ल्याउने काममा लाग्न आग्रह गरेकी हुन् ।

‘अहिलेको निर्वाचन परिणाम हेर्दा राप्रपाले जम्मा एक सिट जितेको छ, त्यो पनि आदरणीय ज्ञानेन्द्र शाही मात्र एक सिटमा सीमित हुँदा पार्टीप्रति चिन्ता र दुःख व्यक्त गर्नेहरू सामाजिक सञ्जालमा खासै देखिएनन्,’ उनले लेखेकी छन्, ‘तर स्थानीय चुनाव नजिकिँदै गर्दा पार्टीको पहल र राजनीतिक छलफलका लागि कार्यकर्ताले शीर्ष नेताहरूलाई भेटघाटमा बोलाउँदा देखिएको आरोप–प्रत्यारोप र रुवाबासी देख्दा ती कार्यकर्ताको राजनीतिक संस्कारप्रति साँच्चै दया लागेर आउँछ।’

उनले सबै नेताहरू देश दौडाहामा निस्कनु पर्ने र पार्टी नेतृत्वबाटै पार्टी कमजोर बनाउने काम बन्द हुनुपर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘पार्टीको काम गर्नुस्। सबैभन्दा पहिले केन्द्रीय नेताहरू एकजुट हुनुस्। पार्टीलाई कमजोर बनाउने काम आफ्नै तहका कार्यकर्ताको व्यवहार र गुट,उपगुटको मानसिकताबाट भइरहेको छ भन्ने कुरा अब स्पष्ट हुँदै गएको छ।’

उनले  एउटै मुद्दा, मिसन र पार्टी अनि साझा नेतृत्व बनाउने काममा लाग्न आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘हामी कार्यकर्ता सामाजिक सञ्जालमा एकआपसमा लडेर बस्ने कि केन्द्रीय नेतृत्वलाई एकजुट हुन दबाब दिने ? भेटघाटमा रमाइरहनुभएका तीन शीर्ष नेताका पछाडि लागेर एकअर्कालाई शत्रुजस्तो व्यवहार नगर्नुस्। नेता फरक हुन सक्छन्, तर पार्टी र विचार एउटै हो।’

उनले भनेकी छन्, ‘माओवादी प्रचण्ड समूहका नेताहरू हाम्रो मुद्दामा आए भने सम्मानसहित स्थान दिन तयार हुने, तर आफ्नै पार्टीका नेताहरूलाई भने गुटको चस्माले हेर्ने ?’

उनले राप्रपाले बोकेको विचार राजा र हिन्दू राष्ट्रको भएको र राजनीतिक मुद्दा र पहिचान अरू दलभन्दा फरक भएको बताएकी छन् । उनले आफ्नो मूल विचार, धर्म, संस्कृति र राजनीतिक संस्कारलाई नबिर्सन आग्रह गर्दै नेताहरू फुटाउने होइन, जोड्ने काममा लाग्नु पर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘कार्यकर्ता भिडाउने होइन, नेतृत्वलाई एकताको दबाब दिऔँ, पद र गुटभन्दा माथि पार्टी राखौँ। व्यक्ति होइन, विचारको राजनीति गरौँ। राप्रपा बलियो बनाउने जिम्मेवारी हामी सबैको हो।’

उनले सम्पूर्ण नेता तथा कार्यकर्तामा सचेत, संयमित र एकताबद्ध रहन पनि आग्रह गरेकी छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

राप्रपामा गुटबन्दी गर्नेलाई नेतृ खुशी कार्कीको खबरदारीः रुवाबासी बन्द गर्नुहोस् ! (भिडियो)
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.