मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-५ स्थित बसन्तपुरमा ‘यात्रा भेट्रान्स कप फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । यात्रा क्लबको आयोजनामा भदौ १९, २० र २१ गते ८ ए साइड खुला नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगिताको पहिलो पुरस्कार ट्रफीसहित खसी र दोस्रो पुरस्कार ५ किलोको भाले रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ भने टिम दर्ताको अन्तिम मिति भदौ १८ गतेसम्म रहेको छ ।
प्रतियोगिता मनहरी-५ बसन्तपुरस्थित खेल मैदानमा सञ्चालन हुनेछ । आयोजकका अनुसार खेलाडीको योग्यताअन्तर्गत २०५० साल भन्दा अगाडी जन्मिएका खेलाडी मात्र सहभागी हुन पाउनेछन् । साथै ८५ केजीभन्दा माथिका खेलाडीलाई समेत सहभागी गराइने उल्लेख गरिएको छ । ८५ केजी भन्दा माथी तौल भएकाहरुलाई उमेरहद नतोकिएको पनि आयोजकले जनाएको छ ।
क्षेत्रगत सहभागितातर्फ मनहरी-५ र ९ का बसन्तपुर, रुक्टेडाँडा, खर्दुङ्गा, डिल्लीपुर र रजैया क्षेत्रका खेलाडी तथा टोलीलाई सहभागिताको अवसर दिइएको छ ।
प्रतियोगिताको मुख्य नियमअनुसार प्रत्येक टिममा १२ जना खेलाडी अनिवार्य रहनेछन्, जसमा ८ जना मैदानमा र ४ जना वैकल्पिक खेलाडी रहनेछन् । सबै खेलाडीले अनिवार्य रूपमा जर्सी र बुट लगाउनुपर्नेछ ।
खेलमा पहेँलो र रातो कार्डको व्यवस्था गरिएको छ । पहेँलो कार्डका लागि ३०० रुपैयाँ र रातो कार्डका लागि ५०० रुपैयाँ जरिवाना तोकिएको छ । प्रतियोगिता एन्फा (ANFA) को नियमअनुसार सञ्चालन गरिने र रेफ्रीको निर्णय नै अन्तिम हुने आयोजकले जनाएको छ ।
खेलका क्रममा कुनै पनि प्रकारको झगडा, विवाद वा अभद्र व्यवहार गरेमा सम्बन्धित खेलाडी वा सम्पूर्ण टिमलाई प्रतियोगिताबाट निष्कासन गर्न सकिने आयोजकले स्पष्ट पारेको छ ।
प्रतियोगिताको प्रायोजक मनहरी-५ वडा कार्यालय रहेको छ । प्रतियोगितासम्बन्धी थप जानकारी तथा टिम दर्ताका लागि ९८४५४६०५२९ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।


Leave a Comment