मनहरी- मकवानपुरको मनहरी गाउँपालिका–५ का हरि मिजार नेपाली चलचित्रको चर्चित श्रंखला ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ मार्फत ठूलो पर्दामा देखिने भएका छन् । आगामी कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शनमा आउने चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै मिजारको भूमिकाबारे पनि चर्चा सुरु भएको छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा मिजारले विपिन कार्कीसँगै पर्दा साझा गरेका छन् । सार्वजनिक ट्रेलरमा कार्की नकारात्मक भूमिकामा देखिएका छन् भने मिजारलाई उनको साथीका रूपमा देख्न सकिन्छ । दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर श्रीजना गुरुङ रिश्मा गुरुङलगायत स्थापित कलाकारको अभिनय रहेको चलचित्रमा मिजारको प्रवेश मकवानपुरको कला क्षेत्रका लागि पनि चासोको विषय बनेको छ ।
मनहरी–५ मा जन्मिएका मिजारले स्थानीय नाटक तथा सांस्कृतिक कार्यक्रमबाट अभिनय यात्रा सुरु गरेका हुन् । श्री भोजसिद्ध माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेका उनी उच्च शिक्षाका लागि हेटौँडा आएका थिए । पत्रकारिता तथा लघु चलचित्रमा लेखन, निर्देशन र अभिनयको अनुभवसमेत बटुलेका मिजार नेपाल सरकारका अधिकृत पनि हुन् ।
‘कबड्डी ५’ बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो । यस चलचित्रको विदेशी वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ ।
ठूलो पर्दामा स्थापित कलाकारहरूसँग देखिन पाउनु मिजारको अभिनय यात्राको महत्वपूर्ण अवसर हो । मनहरीबाट सुरु भएको उनको कला यात्राले राष्ट्रिय चलचित्रमा स्थान पाउनुलाई स्थानीय स्तरमा पनि उपलब्धिका रूपमा हेरिएको छ ।



Leave a Comment