हेटौंडा । प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हेटौंडा-२, मकवानपुरले आफ्नो स्थापना दिवसको अवसरमा बृहत् रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् भने ५५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । सि.एम.सी. चुरेहिल अस्पतालको सहकार्यमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा सहकारीका सदस्य तथा स्थानीयको सहभागिता रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर तथा कार्यक्रमकी प्रमुख अतिथि मिना कुमारी लामाले सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नु सकारात्मक रहेको बताउनुभयो । उहाँले रक्तदान तथा स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमले समुदायको स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै सामाजिक एकता र सहकार्यको भावना बलियो बनाउने उल्लेख गर्नुभयो ।
संस्थाका व्यवस्थापक बिनोद पौडेलले सहकारी सदस्यहरूको आर्थिक हितसँगै सामाजिक र मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सदस्य तथा समुदायको आवश्यकतालाई केन्द्रमा राख्दै विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, संस्थाका अध्यक्ष दिलिश गोविन्द जोशीले सहकारी केवल बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र नभई समुदायसँग जोडिएको सामाजिक संस्था पनि भएको बताउनुभयो । सदस्य तथा समुदायको स्वास्थ्य र सामाजिक हितका लागि संस्थाले विगतदेखि नै विभिन्न सामाजिक गतिविधि गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने उहाँले बताउनुभयो ।
संस्थाकी सहायक व्यवस्थापक फुलमाया छुमीका अनुसार कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् भने ५५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । उहाँले सदस्य तथा सहभागीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको बताउनुभयो ।
संस्थाले विगतमा पनि रक्तदान, स्वास्थ्यलगायत विभिन्न सामाजिक तथा सेवामूलक गतिविधि गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि समुदायको आवश्यकता र हितलाई ध्यानमा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।


Leave a Comment