हेटौँडा । नारायणी यातायात व्यवसायी संघको ३७ औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण तथा पदस्थापन भएको छ ।
हेटौँडास्थित मुख्य कार्यालयमा शपथग्रहण तथा पदस्थापन गरिएको हो । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत ईश्वरराज ढकालले संघको विधानअनुसार नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनाललाई पद तथा गोपनीयताको शपथ गराए । त्यसपछि अध्यक्ष खनालमार्फत् नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराइएको थियो ।
निर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा संघका निवर्तमान अध्यक्ष हीरालाल श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै यातायात क्षेत्रलाई व्यवस्थित र व्यवसायीमैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।
त्यसैगरी नवनिर्वाचित अध्यक्ष खनालले यातायात व्यवसायीले विभिन्न समस्या र चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै व्यवसायीका हकहितको संरक्षण, यातायात क्षेत्रको व्यवस्थापन तथा सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
उनले यातायात क्षेत्रलाई चलायमान र व्यवस्थित बनाउन आवश्यक नीतिगत सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, व्यवसायीका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने तथा सबै व्यवसायीको साझा प्रतिनिधिकारुपमा निष्पक्ष र इमान्दारितापूर्वक काम गर्ने बताए ।
अध्यक्ष खनालले संशोधनको क्रममा रहेको यातायात ऐन, ट्राफिक जरिवाना, सवारी समयतालिका व्यवस्थापन, दुर्घटना न्यूनीकरणलगायत विषय अहिलेका प्रमुख चुनौतीकारुपमा रहेको उल्लेख गर्दै नाफा–घाटाभन्दा माथि उठेर यातायात क्षेत्रको समग्र हित र सेवामा केन्द्रित हुने धारणा राखे ।
कार्यक्रममा मकवानपुर निर्माण व्यवसायी सघंका अध्यक्ष बालगोपाल कँडेल, संघका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।






Leave a Comment