युवालाई खेल मैदान, पुस्तकालय, तालिम केन्द्र तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउने वातावरण निर्माण गर्न सके उनीहरू गलत बाटोमा लाग्ने सम्भावना कम हुन्छ ।
–गणेश दर्पण अधिकारी
हाम्रो परिवार यो वर्ष शोकमा छ । हामीले हाम्रो परिवारका युवा सदस्य अर्थात् २१ वर्षीय कान्छो भाइ सुरेन्द्र र ८७ वर्ष पुग्नुभएका हजुरबुबा बलराम अधिकारीलाई गुमायौँ । हजुरबुबाको मृत्यु स्वाभाविक थियो भने भाइको मृत्यु असामयिक । किड्नी फेल भएको भाइलाई हामीले बचाउन सकेनौँ । किड्नी फेल हुनुको मुख्य कारण लागुऔषध भएको पछि मात्र थाहा पायौँ । पढाइमा अब्बल भाइ एसइइपश्चात दशजोड दुर्ई पढ्न थालेपछि लागुऔषधको नसामा परेछ । करिब साढे ३ वर्षअघि बसामाडीमा मोटरसाइकल दुर्घटनामा परेपछि मात्रै हामीले यसबारे थाहा पायौँ । दुर्घटनामा ‘बाँच्दैन’ भनेको भाइलाई हामीले १८ दिन सिएमसिमा उपचार गरेर बचाएका थियौँ ।
पछि उसलाई ब्याक्टेरियल इन्फेक्सन भयो । त्यो समयमा पनि भगवानरुपी डाक्टरहरुको अथक प्रयासले बचायौँ । र, त्यसको करिब डेढ वर्षपछि किड्नी फेल भयो । किड्नी फेल भएको करिब ९ महिनापछि २०८२ असोज ९ गते हामीलाई छाडेर भगवानको प्यारो भयो । भाइलाई बचाउन हाम्रो परिवारले सकेको प्रयास गरेको थियो, तर सकेनौँ ।
यहाँ यति विषय राखिसकेपछि म मनहरी गाउँपालिकासहित मकवानपुर जिल्ला नै लागुऔषधको ‘रेडजोन’मा रहेको विषयले साह्रै चिन्तित छु । मकवानपुर पछिल्लो समय लागुऔषध कारोबार तथा दुव्र्यसनका दृष्टिले निकै संवेदनशील बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्ला महिनामा लगातार लागुऔषधविरुद्ध अभियान सञ्चालन गरिरहेको छ । दैनिकजसो लागुऔषधसहित व्यक्ति पक्राउ परिरहेका समाचार सार्वजनिक भइरहेका छन् ।
एउटा सञ्चारकर्मीको नाताले लागुऔषधसहित मानिस पक्राउ परेका, लागुऔषधविरुद्ध अभियान सञ्चालन भएका, लागुऔषध दुव्र्यसनी रोक्न गर्नुपर्ने प्रयासलगायतका विषयमा समाचार बनाइरहेकै हुन्छु । जिल्लाको यो विकराल समस्या अहिले ग्रामीण क्षेत्रसम्म फैलिएको छ, जसको प्रत्यक्ष प्रभाव मनहरी गाउँपालिकामा पनि देखिएको छ । यहाँका धेरै युवा लागुऔषध सेवनमा मात्र नभई ओसारपसारमा समेत लागेको पाइएको छ । साविक हाँडीखोला गाविस र मनहरी गाविस मिलेर बनेको मनहरी गाउँपालिका प्राकृतिक, सामाजिक र आर्थिक हिसाबले सम्भावना बोकेको क्षेत्र हो । पूर्वपश्चिम राजमार्गको पहुँच, बढ्दो सहरीकरण र विभिन्न जातजाति तथा समुदायको बसोबास रहेको यस क्षेत्रले विकासका अवसर पनि प्राप्त गरेको छ । तर विकासका अवसरसँगै केही चुनौती पनि भित्रिएका छन् ।
तीमध्ये लागुऔषध दुव्र्यसन सबैभन्दा गम्भीर समस्याका रूपमा देखापरेको छ । एक दशकअघिसम्म मनहरीमा लागुऔषधको समस्या सीमित थियो । तर पछिल्ला वर्षहरूमा अवस्था फेरिएको छ । अहिले गाउँका धेरै युवा लागुऔषधको सम्पर्कमा पुगेका छन् । कतिपय प्रयोगकर्ताबाट कारोबारी बनेका छन् भने कतिपय युवा विभिन्न आपराधिक गतिविधिमा समेत संलग्न हुनथालेका छन् । परिवार, समाज र स्थानीय तहका लागि यो चिन्ताको विषय बनेको छ ।
लागुऔषधको चपेटामा परेका युवाको संख्या बढ्दै जाँदा यसको असर केबल उनीहरूको व्यक्तिगत जीवनमा मात्र सीमित रहँदैन । परिवारको आर्थिक अवस्था कमजोर बन्छ, सामाजिक सम्बन्ध बिग्रन्छ, मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्छ र अन्ततः ज्यानै जाने जोखिमसमेत रहेको छ । लागुऔषधको लत लागेका धेरै युवाले आफ्नो अध्ययन अधूरो छाड्ने, रोजगारी गुमाउने तथा परिवारसँगको सम्बन्ध बिगार्ने गरेका छन् । कतिपय अवस्थामा चोरी, झैझगडा र अन्य आपराधिक गतिविधि पनि बढिरहेको छ । मनहरीका धेरै युवा लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेर प्रहरी हिरासत, कस्टडी र जेलसम्म पुगेका छन् ।
जेल सजाय भोगेपछि वा सुधार केन्द्रमा बसेर फर्किएपछि उनीहरू नयाँ जीवन सुरु गर्ने अपेक्षा रहन्छ, तर दुःखको कुरा, धेरैजसो युवा पुनः लागुऔषधको दलदलमा फस्ने गरेका छन् । यसले सुधार प्रक्रियाको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ । सुधार केन्द्रहरूले लागुऔषध प्रयोगकर्तालाई केही समयका लागि लतबाट टाढा राख्न सहयोग पु¥याएका छन् । तर सुधार केन्द्रबाट बाहिरिएपछि समाजमा पुनःस्थापना गर्ने प्रभावकारी संयन्त्र अभाव देखिन्छ । सुधार केन्द्रमा बसेर फर्किएका युवालाई सीपमूलक तालिम, रोजगारीको अवसर, मनोपरामर्श तथा निरन्तर निगरानीको व्यवस्था हुन सकेको छैन । परिणामस्वरूप उनीहरू फेरि पुरानै साथीभाइ, वातावरण र दबाबमा परेर लागुऔषध सेवनतर्फ फर्किएका छन् ।
स्थानीय सरकारले यो समस्या समाधान गर्न विभिन्न प्रयास गरेको देखिन्छ । सुधार केन्द्रसँग समन्वय, सचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय अभियान तथा समुदायमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएका छन् । तर समस्या जति तीव्र गतिमा फैलिरहेको छ, त्यसको तुलनामा प्रयासहरू पर्याप्त भएका छैनन् । लागुऔषध नियन्त्रणका लागि गरिएका कार्यक्रमहरू अझ व्यापक, योजनाबद्ध र परिणाममुखी हुन जरुरी छ । विशेषगरी युवालाई लक्षित गरेर दीर्घकालीन रणनीति निर्माण गर्नुपर्ने आवश्यकता छ । लागुऔषधको समस्या केबल प्रहरीको कारबाहीबाट मात्र समाधान हुँदैन । यसमा परिवार, विद्यालय, स्थानीय सरकार, सामाजिक संघसंस्था, स्वास्थ्य क्षेत्र र समुदाय सबैको साझा भूमिका आवश्यक रहन्छ ।
अभिभावकले आफ्ना छोराछोरीको गतिविधिप्रति सचेत हुनुपर्छ । विद्यालयले लागुऔषधविरुद्ध नियमित सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । समाजले पनि लागुऔषध प्रयोगकर्तालाई घृणा गर्ने होइन, सुधारको अवसर दिने वातावरण बनाउनुपर्छ । मनहरी गाउँपालिकाको सन्दर्भमा बेरोजगारी पनि लागुऔषध दुव्र्यसन बढ्नुको एक प्रमुख कारण देखिएको छ । धेरै युवा अध्ययन पूरा गरेपछि रोजगारीको अवसर नपाउँदा निराश बनिरहेका छन् । केही युवा विदेश जाननसक्ने, व्यवसाय सुरु गर्न पूँजी नहुने तथा भविष्यप्रति अन्योलमा रहने अवस्थाले गलत संगततर्फ धकेलिने गरेका छन् । खेलकुद र सांस्कृतिक गतिविधि पनि लागुऔषधविरुद्ध प्रभावकारी माध्यम बन्न सक्छ ।
युवालाई खेल मैदान, पुस्तकालय, तालिम केन्द्र तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउने वातावरण निर्माण गर्न सके उनीहरू गलत बाटोमा लाग्ने सम्भावना कम हुन्छ । लागुऔषध नियन्त्रणका लागि प्रहरी प्रशासनसँगको सहकार्यलाई समेत सुदृढ बनाउन आवश्यक छ । लागुऔषधको आपूर्ति गर्ने मुख्य स्रोत पहिचान गरी त्यस्ता नेटवर्कमाथि कडा निगरानी गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । केबल प्रयोगकर्तालाई पक्राउ गरेर मात्र समस्या समाधान हुँदैन । लागुऔषध भित्र्याउने, बिक्रीवितरण गर्ने र युवालाई लतमा फसाउने गिरोहविरुद्ध प्रभावकारी कारबाही जरुरी छ ।
आज मनहरी गाउँपालिकाका लागि लागुऔषध समस्या सामाजिक र मानवीय संकटका रूपमा देखापरेको छ । यदि अहिले नै प्रभावकारी कदम चालिएन भने आगामी वर्षहरूमा अझ धेरै युवा यसको चपेटामा पर्ने निश्चित छ । लागुऔषधकै कारण हामीले हाम्रो परिवारको एक होनहार युवा सदस्यलाई गुमायौँ । अहिले धेरै युवा लागुऔषधको नसामा झुम्म भएर बसिरहेको देख्ने गरिएको छ । विशेषगरी परिवारले नै आफ्नो बालबालिका के गर्दैछ ? कस्तो अवस्थामा छ भन्ने ध्यान दिनु जरुरी छ । बाहिरबाट देख्दा लागुऔषध त हो नि भन्ने जस्तो देखिए पनि भित्रभित्रै यो हामी सबैका लागि ठूलो समस्या भइसकेको छ । थाहा हुनेहरुले पनि पछि मात्रै उसले त गाँजा खान्थ्यो, गोटी खान्थ्यो, धूलो खाने गरेको थियो रे भन्ने गर्दछन् ।
लागुऔषधकै कारण हाम्रो परिवारले जस्तो दुःख अनि तनाव अरु कसैले खेप्न नपरोस् । विकराल बनेको लागुऔषध दुव्र्यसनको समस्या समाधान गर्न सबै एकजुट हौँ । योजनाबद्ध काम गरौँ । नत्र फुर्सदमा पछुताउनुको विकल्प छैन । लागुऔषधको समस्या समाधानका लागि आजैबाट हातेमालो गरौँ । लागुऔषधमुक्त सुन्दर अनि शान्त समाज निर्माण गरौँ । (अधिकारी, प्रदेश दैनिकका प्रकाशक एवम् सम्पादक हुन्)

Leave a Comment