Latest News
Hetauda

लागुऔषधका कारण हामीले जस्तो पीडा अरुले खेप्न नपरोस्

लागुऔषधका कारण हामीले जस्तो पीडा अरुले खेप्न नपरोस्

युवालाई खेल मैदान, पुस्तकालय, तालिम केन्द्र तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउने वातावरण निर्माण गर्न सके उनीहरू गलत बाटोमा लाग्ने सम्भावना कम हुन्छ ।

–गणेश दर्पण अधिकारी

हाम्रो परिवार यो वर्ष शोकमा छ । हामीले हाम्रो परिवारका युवा सदस्य अर्थात् २१ वर्षीय कान्छो भाइ सुरेन्द्र र ८७ वर्ष पुग्नुभएका हजुरबुबा बलराम अधिकारीलाई गुमायौँ । हजुरबुबाको मृत्यु स्वाभाविक थियो भने भाइको मृत्यु असामयिक । किड्नी फेल भएको भाइलाई हामीले बचाउन सकेनौँ । किड्नी फेल हुनुको मुख्य कारण लागुऔषध भएको पछि मात्र थाहा पायौँ । पढाइमा अब्बल भाइ एसइइपश्चात दशजोड दुर्ई पढ्न थालेपछि लागुऔषधको नसामा परेछ । करिब साढे ३ वर्षअघि बसामाडीमा मोटरसाइकल दुर्घटनामा परेपछि मात्रै हामीले यसबारे थाहा पायौँ । दुर्घटनामा ‘बाँच्दैन’ भनेको भाइलाई हामीले १८ दिन सिएमसिमा उपचार गरेर बचाएका थियौँ ।

पछि उसलाई ब्याक्टेरियल इन्फेक्सन भयो । त्यो समयमा पनि भगवानरुपी डाक्टरहरुको अथक प्रयासले बचायौँ । र, त्यसको करिब डेढ वर्षपछि किड्नी फेल भयो । किड्नी फेल भएको करिब ९ महिनापछि २०८२ असोज ९ गते हामीलाई छाडेर भगवानको प्यारो भयो । भाइलाई बचाउन हाम्रो परिवारले सकेको प्रयास गरेको थियो, तर सकेनौँ ।

यहाँ यति विषय राखिसकेपछि म मनहरी गाउँपालिकासहित मकवानपुर जिल्ला नै लागुऔषधको ‘रेडजोन’मा रहेको विषयले साह्रै चिन्तित छु । मकवानपुर पछिल्लो समय लागुऔषध कारोबार तथा दुव्र्यसनका दृष्टिले निकै संवेदनशील बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्ला महिनामा लगातार लागुऔषधविरुद्ध अभियान सञ्चालन गरिरहेको छ । दैनिकजसो लागुऔषधसहित व्यक्ति पक्राउ परिरहेका समाचार सार्वजनिक भइरहेका छन् ।

एउटा सञ्चारकर्मीको नाताले लागुऔषधसहित मानिस पक्राउ परेका, लागुऔषधविरुद्ध अभियान सञ्चालन भएका, लागुऔषध दुव्र्यसनी रोक्न गर्नुपर्ने प्रयासलगायतका विषयमा समाचार बनाइरहेकै हुन्छु । जिल्लाको यो विकराल समस्या अहिले ग्रामीण क्षेत्रसम्म फैलिएको छ, जसको प्रत्यक्ष प्रभाव मनहरी गाउँपालिकामा पनि देखिएको छ । यहाँका धेरै युवा लागुऔषध सेवनमा मात्र नभई ओसारपसारमा समेत लागेको पाइएको छ । साविक हाँडीखोला गाविस र मनहरी गाविस मिलेर बनेको मनहरी गाउँपालिका प्राकृतिक, सामाजिक र आर्थिक हिसाबले सम्भावना बोकेको क्षेत्र हो । पूर्वपश्चिम राजमार्गको पहुँच, बढ्दो सहरीकरण र विभिन्न जातजाति तथा समुदायको बसोबास रहेको यस क्षेत्रले विकासका अवसर पनि प्राप्त गरेको छ । तर विकासका अवसरसँगै केही चुनौती पनि भित्रिएका छन् ।

तीमध्ये लागुऔषध दुव्र्यसन सबैभन्दा गम्भीर समस्याका रूपमा देखापरेको छ । एक दशकअघिसम्म मनहरीमा लागुऔषधको समस्या सीमित थियो । तर पछिल्ला वर्षहरूमा अवस्था फेरिएको छ । अहिले गाउँका धेरै युवा लागुऔषधको सम्पर्कमा पुगेका छन् । कतिपय प्रयोगकर्ताबाट कारोबारी बनेका छन् भने कतिपय युवा विभिन्न आपराधिक गतिविधिमा समेत संलग्न हुनथालेका छन् । परिवार, समाज र स्थानीय तहका लागि यो चिन्ताको विषय बनेको छ ।

लागुऔषधको चपेटामा परेका युवाको संख्या बढ्दै जाँदा यसको असर केबल उनीहरूको व्यक्तिगत जीवनमा मात्र सीमित रहँदैन । परिवारको आर्थिक अवस्था कमजोर बन्छ, सामाजिक सम्बन्ध बिग्रन्छ, मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्छ र अन्ततः ज्यानै जाने जोखिमसमेत रहेको छ । लागुऔषधको लत लागेका धेरै युवाले आफ्नो अध्ययन अधूरो छाड्ने, रोजगारी गुमाउने तथा परिवारसँगको सम्बन्ध बिगार्ने गरेका छन् । कतिपय अवस्थामा चोरी, झैझगडा र अन्य आपराधिक गतिविधि पनि बढिरहेको छ । मनहरीका धेरै युवा लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेर प्रहरी हिरासत, कस्टडी र जेलसम्म पुगेका छन् ।

जेल सजाय भोगेपछि वा सुधार केन्द्रमा बसेर फर्किएपछि उनीहरू नयाँ जीवन सुरु गर्ने अपेक्षा रहन्छ, तर दुःखको कुरा, धेरैजसो युवा पुनः लागुऔषधको दलदलमा फस्ने गरेका छन् । यसले सुधार प्रक्रियाको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ । सुधार केन्द्रहरूले लागुऔषध प्रयोगकर्तालाई केही समयका लागि लतबाट टाढा राख्न सहयोग पु¥याएका छन् । तर सुधार केन्द्रबाट बाहिरिएपछि समाजमा पुनःस्थापना गर्ने प्रभावकारी संयन्त्र अभाव देखिन्छ । सुधार केन्द्रमा बसेर फर्किएका युवालाई सीपमूलक तालिम, रोजगारीको अवसर, मनोपरामर्श तथा निरन्तर निगरानीको व्यवस्था हुन सकेको छैन । परिणामस्वरूप उनीहरू फेरि पुरानै साथीभाइ, वातावरण र दबाबमा परेर लागुऔषध सेवनतर्फ फर्किएका छन् ।

स्थानीय सरकारले यो समस्या समाधान गर्न विभिन्न प्रयास गरेको देखिन्छ । सुधार केन्द्रसँग समन्वय, सचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय अभियान तथा समुदायमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएका छन् । तर समस्या जति तीव्र गतिमा फैलिरहेको छ, त्यसको तुलनामा प्रयासहरू पर्याप्त भएका छैनन् । लागुऔषध नियन्त्रणका लागि गरिएका कार्यक्रमहरू अझ व्यापक, योजनाबद्ध र परिणाममुखी हुन जरुरी छ । विशेषगरी युवालाई लक्षित गरेर दीर्घकालीन रणनीति निर्माण गर्नुपर्ने आवश्यकता छ । लागुऔषधको समस्या केबल प्रहरीको कारबाहीबाट मात्र समाधान हुँदैन । यसमा परिवार, विद्यालय, स्थानीय सरकार, सामाजिक संघसंस्था, स्वास्थ्य क्षेत्र र समुदाय सबैको साझा भूमिका आवश्यक रहन्छ ।

अभिभावकले आफ्ना छोराछोरीको गतिविधिप्रति सचेत हुनुपर्छ । विद्यालयले लागुऔषधविरुद्ध नियमित सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । समाजले पनि लागुऔषध प्रयोगकर्तालाई घृणा गर्ने होइन, सुधारको अवसर दिने वातावरण बनाउनुपर्छ । मनहरी गाउँपालिकाको सन्दर्भमा बेरोजगारी पनि लागुऔषध दुव्र्यसन बढ्नुको एक प्रमुख कारण देखिएको छ । धेरै युवा अध्ययन पूरा गरेपछि रोजगारीको अवसर नपाउँदा निराश बनिरहेका छन् । केही युवा विदेश जाननसक्ने, व्यवसाय सुरु गर्न पूँजी नहुने तथा भविष्यप्रति अन्योलमा रहने अवस्थाले गलत संगततर्फ धकेलिने गरेका छन् । खेलकुद र सांस्कृतिक गतिविधि पनि लागुऔषधविरुद्ध प्रभावकारी माध्यम बन्न सक्छ ।

युवालाई खेल मैदान, पुस्तकालय, तालिम केन्द्र तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउने वातावरण निर्माण गर्न सके उनीहरू गलत बाटोमा लाग्ने सम्भावना कम हुन्छ । लागुऔषध नियन्त्रणका लागि प्रहरी प्रशासनसँगको सहकार्यलाई समेत सुदृढ बनाउन आवश्यक छ । लागुऔषधको आपूर्ति गर्ने मुख्य स्रोत पहिचान गरी त्यस्ता नेटवर्कमाथि कडा निगरानी गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । केबल प्रयोगकर्तालाई पक्राउ गरेर मात्र समस्या समाधान हुँदैन । लागुऔषध भित्र्याउने, बिक्रीवितरण गर्ने र युवालाई लतमा फसाउने गिरोहविरुद्ध प्रभावकारी कारबाही जरुरी छ ।

आज मनहरी गाउँपालिकाका लागि लागुऔषध समस्या सामाजिक र मानवीय संकटका रूपमा देखापरेको छ । यदि अहिले नै प्रभावकारी कदम चालिएन भने आगामी वर्षहरूमा अझ धेरै युवा यसको चपेटामा पर्ने निश्चित छ । लागुऔषधकै कारण हामीले हाम्रो परिवारको एक होनहार युवा सदस्यलाई गुमायौँ । अहिले धेरै युवा लागुऔषधको नसामा झुम्म भएर बसिरहेको देख्ने गरिएको छ । विशेषगरी परिवारले नै आफ्नो बालबालिका के गर्दैछ ? कस्तो अवस्थामा छ भन्ने ध्यान दिनु जरुरी छ । बाहिरबाट देख्दा लागुऔषध त हो नि भन्ने जस्तो देखिए पनि भित्रभित्रै यो हामी सबैका लागि ठूलो समस्या भइसकेको छ । थाहा हुनेहरुले पनि पछि मात्रै उसले त गाँजा खान्थ्यो, गोटी खान्थ्यो, धूलो खाने गरेको थियो रे भन्ने गर्दछन् ।

लागुऔषधकै कारण हाम्रो परिवारले जस्तो दुःख अनि तनाव अरु कसैले खेप्न नपरोस् । विकराल बनेको लागुऔषध दुव्र्यसनको समस्या समाधान गर्न सबै एकजुट हौँ । योजनाबद्ध काम गरौँ । नत्र फुर्सदमा पछुताउनुको विकल्प छैन । लागुऔषधको समस्या समाधानका लागि आजैबाट हातेमालो गरौँ । लागुऔषधमुक्त सुन्दर अनि शान्त समाज निर्माण गरौँ । (अधिकारी, प्रदेश दैनिकका प्रकाशक एवम् सम्पादक हुन्)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

लागुऔषधका कारण हामीले जस्तो पीडा अरुले खेप्न नपरोस्