–विशाल राज महत
फोहोरलाई आम्दानीमा, युवालाई रोजगारीमा र आत्मनिर्भर युवा बनाउने मोडेल
हेटौँडा उपमहानगरपालिकाले ‘जिरो वेस्ट हेटौँडा’ अभियान अघि बढाइरहेको छ। सहर सफा बनाउने उद्देश्य आफैँमा स्वागतयोग्य छ। तर सरसफाइका लागि हरेक वर्ष ठूलो रकम खर्च गर्ने, फोहोर उठाउने परम्परागत प्रणालीबाट मात्र दीर्घकालीन समाधान सम्भव हुँदैन।
अब सोच बदल्नुपर्छ।
फोहोरलाई खर्चको विषय होइन, आम्दानीको स्रोत बनाउनुपर्छ। युवालाई सरसफाइका दर्शक होइन, अभियानका नेतृत्वकर्ता बनाउनुपर्छ।
यसका लागि हेटौँडा उपमहानगरपालिकाका प्रत्येक वडामा रहेका युवा क्लबलाई सक्रिय बनाएर ‘युवा स्वच्छता–उद्यम कार्यक्रम’ सञ्चालन गर्न सकिन्छ।
हरेक १५ दिनमा वडा सफाइ, तर फरक शैलीमा
प्रत्येक वडाको युवा क्लबले कम्तीमा १५ दिनमा एकपटक आफ्नो वडा सरसफाइ अभियान सञ्चालन गर्ने व्यवस्था गर्नुपर्छ।
तर अभियानको उद्देश्य सडक बढारेर फोहोर अर्को ठाउँमा थुपार्नु मात्र हुनु हुँदैन।
सरसफाइका क्रममा संकलन हुने प्लास्टिक, कागज, फलाम, बोतल, कार्टुन तथा अन्य पुनःप्रयोग गर्न सकिने सामग्रीलाई छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था हुनुपर्छ।
यसका लागि प्रत्येक वडामा युवा क्लबको नेतृत्वमा ‘फोहोर संकलन तथा पुनःप्रयोग केन्द्र’ स्थापना गर्न सकिन्छ।
संकलन भएको सामग्री बिक्री गरेर प्राप्त रकमलाई युवा क्लबको आम्दानीको स्रोत बनाउन सकिन्छ।
एउटा अभियानः तीनवटा काम
वडा सफा हुन्छ।
युवाले काम पाउँछन्।
फोहोरबाट आम्दानी हुन्छ।
हरेक घरलाई फोहोर छुट्याउने अभियानमा जोडौँ
यो अभियान सडक सफाइमा मात्र सीमित हुनु हुँदैन। प्रत्येक घरलाई यसको हिस्सा बनाउनुपर्छ।
घरका गृहिणी तथा परिवारका सदस्यलाई ‘फोहोर होइन, स्रोत’ भन्ने अवधारणा बुझाउनुपर्छ।
बजारबाट सामान ल्याउँदा प्रयोग भएका प्लास्टिकका झोला, कागज, कार्टुन, बोतल, फलाम तथा अन्य कबाडी सामग्री घरमै छुट्याएर राख्ने बानी बसाल्नुपर्छ।
युवा क्लबले निश्चित दिन तोकेर घरघरबाट त्यस्ता सामग्री संकलन गर्न सक्छ।
उदाहरणका लागि
महिनामा दुईपटक युवा क्लब घरघरमा पुग्ने।
घरले छुट्याएर राखेको पुनःप्रयोगयोग्य सामग्री क्लबलाई दिने।जसबाट फ़ोहोर दिदा मोहोर खर्छ गर्ने होइन गृहिणीले पाउने
क्लबले तौलअनुसार संकलन गर्ने।
संकलित सामग्री बिक्री गर्ने।
आम्दानी क्लबमार्फत स्थानीय युवाको रोजगारी तथा सामाजिक काममा लगाउने।
यसले घरपरिवारमा पनि फोहोर व्यवस्थापनको चेतना बढाउँछ।
कबाडी व्यवसाय प्रतिस्थापन होइन, व्यवस्थित
अहिले धेरै ठाउँमा घरघरबाट कबाडी सामग्री संकलन गर्ने काम निजी कबाडी व्यवसायीले गर्दै आएका छन्। जुन करको दायरा पनि छैन, त्यसलाई एकैपटक हटाउनेभन्दा व्यवस्थित र पारदर्शी प्रणालीमा ल्याउनु आवश्यक छ।
स्थानीय युवाले नै संकलन, वर्गीकरण र पुनःप्रयोगको काम गर्ने वातावरण बनाउने हो भने वडाभित्रै एउटा नयाँ आर्थिक गतिविधि सिर्जना हुन्छ।
युवा क्लबले संकलन केन्द्र सञ्चालन गर्न सक्छ। निजी उद्योग तथा रिसाइक्लिङ कम्पनीसँग सम्झौता गरेर सामग्री बिक्री गर्न सक्छ। भविष्यमा क्लब वा युवाको सहकारीमार्फत प्रशोधन उद्योगसमेत सञ्चालन गर्न सकिन्छ।
यसबाट स्थानीय युवाले रोजगारी पाउने र फोहोर व्यवस्थापनको मूल्य स्थानीय अर्थतन्त्रभित्रै रहने वातावरण बन्न सक्छ।
आज संकलन, भोलि प्रशोधन उद्योग
यो योजनाको सबैभन्दा महत्वपूर्ण पक्ष यसको दीर्घकालीन दृष्टिकोण हो।
सुरुवातमा प्लास्टिक र कागज संकलन गर्ने।
त्यसपछि वर्गीकरण र भण्डारण गर्ने।
बजारमा बिक्री गर्ने।
आम्दानी बढ्दै गएपछि आवश्यक अध्ययन र लगानीका आधारमा प्लास्टिकलाई पुनःप्रशोधन गरी प्लास्टिक दाना उत्पादन गर्ने वा पुनःप्रयोगयोग्य सामग्री बनाउने उद्योग स्थापना गर्न सकिन्छ।
त्यस्तै कागजलाई पनि प्रशोधन गरेर पुनःप्रयोग हुने सामग्री उत्पादन गर्न सकिन्छ।
यसरी आज सडकमा फालिएको प्लास्टिक भोलि स्थानीय युवाको उद्योगको कच्चा पदार्थ बन्न सक्छ।
यो केवल सरसफाइ कार्यक्रम होइन, स्थानीय अर्थतन्त्र निर्माण गर्ने योजना बन्न सक्छ।
युवालाई अवसर दिऔँ
युवामा ऊर्जा छ, क्षमता छ, काम गर्ने इच्छा छ। तर अवसरको अभावमा धेरै युवा रोजगारीका लागि विदेश जान बाध्य छन्।
अर्कोतर्फ, बेरोजगारी र निष्क्रियताले युवालाई विभिन्न सामाजिक विकृतिको जोखिममा पनि पार्न सक्छ। लागूऔषध दुरुपयोग, अपराध तथा असामाजिक गतिविधि न्यूनीकरणका लागि पनि युवालाई व्यस्त, जिम्मेवार र आयसँग जोडिएको सामाजिक भूमिकामा ल्याउनु महत्वपूर्ण हुन्छ।
त्यसैले युवा क्लबलाई वर्षमा एक–दुईवटा कार्यक्रम गर्ने संस्था मात्र होइन, सामाजिक उद्यम र स्थानीय रोजगारी सिर्जना गर्ने संस्थाका रूपमा विकास गर्नुपर्छ।
उपमहानगरपालिकाको बजेट पनि बच्न सक्छ
सरसफाइका लागि हरेक वर्ष ठूलो बजेट खर्च गरिरहनुपर्ने अवस्थालाई पनि यसले क्रमशः घटाउन सक्छ।
नगरपालिकाले सुरुवाती चरणमा आवश्यक तालिम, उपकरण, तौल मेसिन, संकलन केन्द्र तथा प्राविधिक सहयोग उपलब्ध गराउन सक्छ।
तर त्यसपछि संकलित सामग्रीबाट हुने आम्दानीले अभियानलाई क्रमशः आत्मनिर्भर बनाउन सकिन्छ।
अर्थात्
नगरपालिकाले पैसा हालिरहने, युवा काम गरिरहने र फोहोर बढिरहने मोडेल होइनः
नगरपालिकाले सुरुवातमा प्रणाली बनाउने, युवाले सञ्चालन गर्ने र फोहोरबाट आएको आम्दानीले प्रणाली आफैँ चल्ने मोडेल बनाउनुपर्छ।
प्रत्येक वडामा ‘युवा स्वच्छता कोष’
संकलित सामग्री बिक्रीबाट आएको रकमको निश्चित हिस्सा ‘युवा स्वच्छता तथा उद्यम कोष’ मा राख्न सकिन्छ।
त्यसबाट—
संकलन तथा सरसफाइका उपकरण खरिद गर्ने,
युवा क्लबका सक्रिय सदस्यलाई प्रोत्साहन गर्ने,
थप रोजगारी सिर्जना गर्ने,
सीपमूलक तालिम सञ्चालन गर्ने,
वातावरणीय कार्यक्रम सञ्चालन गर्ने,
भविष्यमा रिसाइक्लिङ उद्योगमा लगानी गर्ने
जस्ता काम गर्न सकिन्छ।
यसको सम्पूर्ण हिसाब सार्वजनिक र पारदर्शी हुनुपर्छ।
अन्तिम लक्ष्य के हो ?
यसको लक्ष्य केवल वडा सफा बनाउनु होइन।
फोहोरलाई स्रोत बनाउने, युवालाई उद्यमी बनाउने र वडालाई आर्थिक रूपमा सक्रिय बनाउने हो।
आज
फोहोर संकलन।
भोलि
वर्गीकरण र बिक्री।
त्यसपछि
पुनःप्रशोधन।
अन्ततः—
स्थानीय उद्योग र रोजगारी।
यही क्रमलाई व्यवस्थित रूपमा अघि बढाउन सकियो भने हेटौँडामा ‘जिरो वेस्ट’ केवल नारामा सीमित रहने छैन।
अब चाहिन्छ योजना होइन, कार्यान्वयनको इच्छाशक्ति
हेटौँडा सफा बनाउन लाखौ रुपैयाँ खर्च गरेर फोहोर उठाइरहने कि त्यही फोहोरलाई युवाको आम्दानीको स्रोत बनाउने ?
युवालाई सरसफाइ अभियानमा फोटो खिच्न मात्र बोलाउने कि उनीहरूलाई रोजगारी र उद्यमसँग जोड्ने ?
फोहोरलाई समस्या मात्र मान्ने कि आर्थिक स्रोतका रूपमा हेर्ने ?
निर्णय अब हाम्रो हो।
हरेक वडामा सक्रिय युवा क्लब, १५ दिनमा वडा सफाइ, घरघरबाट छुट्याइएको पुन प्रयोगयोग्य सामग्रीको संकलन, वडास्तरीय संकलन केन्द्र, पारदर्शी बिक्री प्रणाली र क्रमश रिसाइक्लिङ उद्योगतर्फको यात्रा यो मोडेल हेटौँडाको ‘जिरो वेस्ट’ अभियानलाई खर्चिलो कार्यक्रमबाट आत्मनिर्भर अभियानमा रूपान्तरण गर्ने आधार बन्न सक्छ।
ठूलो बजेटभन्दा ठूलो सोच हुनुपर्छ
फोहोर व्यवस्थापनमा पैसा खर्च गर्ने होइन, फोहोरबाट पैसा कमाउने प्रणाली बनाऔँ।
युवालाई विदेश पठाउने मात्र होइन, आफ्नै वडामा रोजगारी र उद्यमको अवसर सिर्जना गरौँ।
सरसफाइलाई अभियान मात्र होइन, स्थानीय अर्थतन्त्रसँग जोडौँ।
योजना सम्भव छ।
स्रोत पनि यहीँ छ।
शक्ति पनि यहीँ छ।
चाहिएको छ त केवल स्पष्ट नीति र लागू गर्ने इच्छाशक्ति।
‘सफा वडा, सक्रिय युवा, फोहोरबाट आम्दानी—यही हो दिगो ‘जिरो वेस्ट हेटौँडा’को बाटो।’
नोटः हेटौँडा उपमहानगरपालिकाले पर्यटन वर्ष २०८३ लाई लक्षित गर्दै ‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडा’ भन्ने नारासहित ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियान सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानका लागि ३२ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ।



Leave a Comment