मनहरी- पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लिपुर दमारमा जंगली हात्ती घरमा पस्दा एक घरमा क्षति पुगेको छ ।
बिहीबार बिहान करिब ३ बजे जंगली हात्ती स्थानीय वीरबहादुर लो (सागर) को घरमा प्रवेश गरी घरमा क्षति पुर्याएको हो । घटनाबाट करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
मनहरी गाउँपालिका-५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारी का अनुसार हात्तीले घरका विभिन्न संरचनामा क्षति पुर्याएको भए पनि घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
पश्चिम मकवानपुरका वन क्षेत्रसँग जोडिएका बस्तीमा पछिल्लो समय जंगली हात्तीको आवतजावत बढ्दै गएको स्थानीयले बताएका छन् । स्थानीयले हात्तीको जोखिम नियन्त्रण तथा बस्तीको सुरक्षाका लागि सम्बन्धित निकायले प्रभावकारी उपाय अपनाउन माग गरेका छन् ।

Leave a Comment