हेटौँडा । हेटौँडा–५, सानो पोखराका अभियन्ता विशालराज महतलाई ‘दोस्रो आरोही व्यक्तित्व सम्मान–२०८३’बाट सम्मान गरिएको छ। आरोही बिट्सले सम्मान गरेको हो ।
महतले पछिल्लो समय हेटौँडामा अन्याय र भ्रष्टाचारविरुद्धको अभियान, नागरिकका सवालमा खबरदारी तथा असहाय र पीडितका पक्षमा कार्य गर्दै आएका छन् ।
महत लामो समयदेखि आम नागरिकका समस्या बोकेर सम्बन्धित निकायको ढोका ढकढक्याउनेमा पर्छन् ।
उसो त उनले शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा सामाजिक सेवाका क्षेत्रमा समेत सक्रियता देखाएका छन् । ‘सेवा, सहयोग र आवाज’ अभियानमार्फत आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका व्यक्तिलाई उपचारको पहलदेखि विपन्न तथा असहाय परिवारलाई सहयोग जुटाउने कामसम्ममा उनको सक्रियता छ ।
उनले हेटौँडा–१८ स्थित वैदिक संस्कृत गुरुकुलका विद्यार्थीलाई शैक्षिक तथा खाद्यान्न सहयोग गर्ने कार्यमा मदत गरेका छन् ।
उनले हेटौँडा अस्पतालसँग सम्बन्धित सार्वजनिक सरोकारको विषयमा आम नागरिकको पक्षमा आवाज उठाउने क्रममा हिरासतमा बस्नु परेको थियो ।
महतले पछिल्लो समय औद्योगिक प्रदूषण, वातावरणीय समस्या र नागरिकका अधिकारका विषयमा अभियान चलाइरहेका छन् ।


Leave a Comment