विकासको हिसाबले हेर्ने हो भने पूर्व पश्चिम राजमार्ग २४ किमि छ । मुख्य खोलाहरूमा ८ वटा पुल सम्पन्न भइसकेको छ । वडा न.९ र ५ जोड्ने निर्माणकै चरणमा छ । शैक्षिक अवस्था विकास हुँदैछ । पर्यापर्यटनको प्रबल सम्भावना छ ।
–एकराज उप्रेती
बागमती प्रदेश, मकवानपुर जिल्ला अन्तर्गत १० स्थानीय तहमध्ये मनहरी एक पालिका हो । यो पालिकाको पूर्वमा हेटौँडा उपमहानगरपालिका, पश्चिममा चितवनको राप्ती नगरपालिका, उत्तरमा राक्सिराङ गाउँपालिका र दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज छ ।
नेपालको संविधान २०७२ अनुसार २०७३ साल फागुनमा पुनर्संरचना गर्दा तत्कालीन मनहरी गाविस र हाँडिखोला गाविसलाई मिसाई मनहरी गाउँपालिका नामाकरण भएको हो । यो दुवै गाविसको छुट्टाछुट्टै ऐतिहासिक पृष्ठभूमि रहेको पाइन्छ । मनहरीमा घरधुरी संख्या १० हजार ९७ छ भने परिवार संख्या १० हजार ७ सय २४ छ । यहाँको पछिल्लो जनसंख्यामा महिला २३ हजार ९ सय ५८ र पुरुष २३ हजार ३ सय ९५ जनासहित ४७ हजार ३ सय ५३ जना छन् ।
१. मनहरी गाविसः
यो गाविस अस्तित्वमा आउनु भन्दा पहिलाको ऐतिहासिक पृष्ठभूमि यस्तो पाइन्छः
महेन्द्र राजमार्ग स्थापना हुनु भन्दा अगाडि पहाडबाट हिउँद महिनामा मानिसहरु गाईगोठ राख्न आउने गर्दथे । हालको मनहरी बजार चितवन जिल्ला, पिप्ले गाउँ पञ्चायतअन्तर्गत रहेको त्यहाँको जग्गाको लालपूर्जाबाट प्रष्ट हुन्छ भने मनहरी खोला पारी मकवानपुर जिल्ला बसामाडी गाउँ पञ्चायत वडा नम्बर ४ रहेको पाइन्छ । बिस्तारै चितवनको तोरी ढुवानी गर्न बाटोको विकास हुँदै गयो । र, मान्छेको बसोबास, पहाडबाट बसाइँसराइ भइआएकाहरुको बस्ती विकास हुँदै गयो ।
२०२६ साल चैत महिनाबाट बसामाडी गाउँ पञ्चायतबाट ज्यामिरे गाउँ पञ्चायतका रूपमा स्थापित भएको देखिन्छ । यसरी मकवानपुर जिल्लाको पश्चिमी क्षेत्रमा एउटा नयाँ गाउँ पञ्चायत खडा भएको इतिहास पाइन्छ ।
२०३५ सालमा तत्कालीन सरकारले जिल्लाको सिमाना हेरफेर गर्दा मनहरी सिमाना हटाइ जिल्ला सिमाना लोथर खोलासम्म कायम गर्दा ज्यामिरे गाउँ पञ्चायत विस्तार भइ लोथरसम्म फैलन पुगेको देखिन्छ ।
२०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा मकवानपुर जिल्लाबाट २ जना माननीय निर्वाचित भएका थिए रुपचन्द्र विष्ट र तिलकबहादुर नेगी । २०३९ सालको ज्यामिरे पञ्चायतको गाउँ सभामा प्रमुख अतिथि भइ माननीय रुपचन्द्र विष्ट आउनु भएको र सभामा बोल्नेक्रममा यो पञ्चायत भित्र महाभारत श्रृंखला मुहान भएर सुरु भएको स्वच्छ, मनहरी खोला बगेको छ, यो गाउँ पञ्चायतको नाम ज्यामिरे भन्दा मनहरी राम्रो हुन्छ भनी सुझाव दिनु हुँदा गाउँ सभाबाट ज्यामिरे पञ्चायत हटाइ मनहरी गाउँ पञ्चायत भनी नामाकरण भएको हामीले इतिहास पाउँछौँ । साथै यस स्थानको अन्य पुराना नाम पनि छन् । जुन चेपाङ भाषाबाट रहेको अनुमान गर्न सकिन्छः १. बाङ्नाम, २. ढाक्रेढुंगा, ३. क्यान्टिन बजार र ४. मनहरी बजार ।
हाँडीखोला गाविसको ऐतिहासिक पृष्ठभूमिः
यसबारे मसँग धेरै जानकारी छैन । मनहरी गाउँपालिका भइसकेपछि २०७४ सालको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएपछि पुराना केही व्यक्तित्वसँग बुझ्दा २०११ सालको बाढीपहिरोले भैँसे, भीमफेदी क्षेत्रमा ठूलो क्षति भएको, त्यसको निरीक्षण गर्न राजा महेन्द्रको भैँसेमा सवारी भएको र त्यसैबखत नरहरिनन्दन उप्रेतीले एउटा बिन्तीपत्र लेखी एकजना (नाम थाहा नभएको, विश्वकर्मा थर भएको) व्यक्तिको नामबाट दलित समुदायको घरबास गर्न जग्गा नभएकाले राप्ती पारि हरिण खोला एरियामा बसोबास गरिपाउँ भनी तयार भएको पत्र दिन भैँसे पुग्दा राजाका सिपाहीहरूले राजालाई बिन्तीपत्र दिने मौका नदिएको र राजाका नजिक जान खोज्दा घचेडेर लडाएको, त्यसपछि राजाका सवारी हेटौँडातर्फ आएको, ती विक पछिपछि दौडँदै हेटौँडा पुगेको, हेटौँडामा राजाको अलमल भइरहँदा पुन भेट गर्न आइपुगेको, त्यतिबेला राजाले ती व्यक्तिलाई भेट गर्न देऊ भनी आफ्ना सिपाहीलाइ भनेपछि, बिन्तीपत्र राजाले हेरेर पत्रमा माग भएको क्षेत्रमा बसोबास गराउन राजा महेन्द्रले तोक लगाएको भन्ने इतिहास छ । यसको आधिकारिता खोज्न जरुरी छ ।
तोक बमोजिमको जग्गा विश्वकर्माबाट नरहरिनन्दन उप्रेतीले अख्तियारी लिई उनैको जिम्दारीमा हालको हाँडिखोला आवाद गुल्जार भएको भन्ने सुनेको, हरिण खोला भन्दा, कानुनी केही समस्या हुन्छ भनी खोलाको नाम परिवर्तन गरी हाँडीखोला भएको भन्ने सुनेको हुँ । यसरी, पूर्व दुवै गाविसको ऐतिहासिक पृष्ठभूमि पाइन्छ । २०७३ सालमा मनहरी र हाँडिखोला गाविसलाई मिसाइ मनहरी नामाकरण भएको हो । यो गाविसको क्षेत्र धेरै वनजंगलले ढाकेको छ ।
यसको क्षेत्रफल १९९.५२. वर्गकिमि रहेको छ । लोथर खोला सिमा नदीको रूपमा रहेको छ भने राप्ती, मनहरी, खोला यो गाविस भित्र भएर बगेको छ । २ वटा राष्ट्रिय निकुञ्ज यसभित्र पर्छ । जातिगत हिसाबमा, तामाङ जातिको बाहुल्यता देखिन्छ । अन्य जातिमा, क्षेत्री, बाहुन, सन्यासी, दलित, चेपाङ, बनकरिया, बोटे, राई दनुवारको बसोबास भएको देखिन्छ ।
विकासको हिसाबले हेर्ने हो भने पूर्व पश्चिम राजमार्ग २४ किमि छ । मुख्य खोलाहरूमा ८ वटा सम्पन्न भइसकेको छ । वडा न.९ र ५ जोड्ने निर्माणकै चरणमा छ । शैक्षिक अवस्था विकास हुँदैछ । पर्यापर्यटनको प्रबल सम्भावना छ । नदी नियन्त्रण सम्पन्न गरी क्षतिबाट जोगाउने कार्य भइरहेको छ । यो नगरपालिका बनाउन सबै कुराले उपयुक्त भइसकेको छ । तरकारी, दुग्ध, खाद्यान्नमा आत्मनिर्भर भइ बाहिर बिक्री भइरहेको छ ।
भविष्यमा जनावरबाट हुने क्षति कम गर्न र कृषि र पर्यटनको माध्यमबाट रोजगारी, स्वरोजगारी स्थापना गरी प्राकृतिक स्रोतसाधनको वैज्ञानिक विधिबाट प्रयोग गरी ठूलो मात्रामा आयस्रोत बढाउन सकिन्छ । स्वास्थ्यको क्षेत्रमा धनी यो पालिका अगाडि बढेको छ । विकासका लागि सबै सकारात्मक बनी एउटै संकल्पका साथ अगाडि बढौँ । समृद्ध मनहरी बनाउन केही गाह्रो छैन । (पूर्वअध्यक्ष, मनहरी गाउँपालिका)


Leave a Comment