मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–५ मा आफ्नै भवनबाट पशु सेवा केन्द्र विधिवत रूपमा सञ्चालनमा आएको छ । सेवा केन्द्र सञ्चालनमा आएसँगै वडाभित्रका पशुपालक किसानले आफ्ना बिरामी पशुचौपायाको निःशुल्क उपचार तथा औषधि सेवा प्राप्त गर्न सक्ने भएका छन् ।
वडा अध्यक्ष दीपेन्द्र अधिकारीका अनुसार अबदेखि घरमा पालिएका गाई, भैंसी, बाख्रा, बंगुरलगायत पशु बिरामी परेमा सेवा केन्द्रमा ल्याएर निःशुल्क उपचार गराउन सकिनेछ । साथै, पशुलाई सेवा केन्द्रसम्म ल्याउन सम्भव नभएको अवस्थामा पशु प्राविधिक घरमै पुगेर आवश्यक उपचार सेवा प्रदान गर्ने व्यवस्था पनि गरिएको छ ।
वडा कार्यालयले यस सेवाबाट पशुपालक किसानलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ । यसले पशु स्वास्थ्य संरक्षण, उत्पादन वृद्धि तथा किसानको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वडा अध्यक्ष अधिकारीले सबै वडावासीलाई उपलब्ध सेवाको अधिकतम उपयोग गर्न आग्रह गर्दै पशुपालन क्षेत्रको विकास र किसानको हितलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Comment