हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको जनहित सामुदायिक वनले पर्यटकीय पूर्वाधार निर्माण गरेर पर्यटन प्रवद्र्धनको प्रयास गरेको छ । तर यथेष्ट बजेट नहुँदा योजना पूर्ण हुनसकेको छैन ।
२०५२ सालमा स्थापित जनहित सामुदायिक वनले पूर्वाधार विकास गर्दै पछिल्लो समय दुई वटा पार्क र पोखरी निर्माण गरेको छ । ८ सय ३५ उपभोक्ता सदस्य रहेको वनले दिगो वन व्यवस्थापन गरेर उपभोक्तालाई दाउरा र काठ मात्रै उपलब्ध गराएको छैन, पयर्टकीय पार्क र पोखरी निर्माण गरेको छ भने स्थानीय कलेज र उच्चमाविलाई पनि रकम उपलब्ध गराएको छ ।
उपभोक्ताले प्रतिक्युफिट १ हजार २ सय रुपैयाँमा सालको काठ पाएका छन् । उपभोक्ता परिवारका सदस्यलाई दाहसंस्कारमा दाउरा निःशुल्क गरिएको छ भने पूजापाठ, व्रतबन्ध, विवाहका बेलामा ५ रुपैयाँ किलोमा दाउरा उपलब्ध गराइए समूहका अध्यक्ष होमनाथ पुडासैनीले बताए ।
अध्यक्ष पुडासैनीले समूहले चिल्डेन पार्क, हात्तिगौँडा पार्क सञ्चलनमा ल्याइएको बताए । पार्कलाई व्यवस्थित बनाउँदै वन समूहले बालमैत्री पार्कका रुपमा विकास गरेको छ । पार्कमा अवाश्यक पूर्वाधार निर्माण भइरहेको छ ।
४०७ दशमलव ६२ हेक्टर क्षेत्रफल रहेको वन क्षेत्रमा जंगलको हैसियत गुमेको ठाउँमा वृक्षरोपण गरिएको छ । जंगलमा पानी सञ्चित गरेर हिउँदमा पानीको स्रोतका लागि दुई वटा पोखरी पनि निर्माण भएको छ ।
हेटौँडाको बस्तीपुर बजारबाट केही दूरीमा रहेको आकर्षक पार्कमा वनभोज, घुमघाम, बालबालिकालाई मनोरञ्जनका लागि सर्वसाधारण आउने गरेका छन् । हेटौँडा नजिकैका त्रिखण्डी र शहीद स्मारकपछि अब बस्तीपुरको जनहित वनको पार्क हेटौँडामा अर्को गन्तव्य बन्ने देखिएको छ ।
खेलमैदान पनि भाडामा दिने गरिएको छ । हेटौँडा, चितवन, वीरगंज, जनकपुरदेखि भारतीय सीमा सहरबाट हेटौँडा आउनेका लागि पनि अब यो पार्क त्रिखण्डी र शहीद स्मारकपछिको विकल्पका रुपमा विकसित हुँदै गएको छ ।
वन समूहको हातामा पार्क र पोखरी बनाएर पर्यटकीय हिसाबले वनको विकासमा समूह क्रियाशील रहेको छ । वन समूहको आम्दानी २५ प्रतिशत वनकै विकासमा र केही रकम शिक्षाको उन्नयनमा खर्च गरिएको अध्यक्ष पुडासैनीले बताए ।
वन समूहले २ लाख रुपैयाँ स्थानीय निर्मल बहुमुखी क्याम्पसलाई र डेढलाख रुपैयाँ निर्मल उच्चमाविलाई दिइएको छ । बिदा र घुमघामका लागि मनोरम हरियाली जंगल अनि आकर्षक पार्क र मन्दिर रहेको वन समूहको आफ्नै सभाहला र फुटबल प्रतियोगिता गर्न मिल्ने मैदानसमेत छ ।
पार्कलाई पर्यटकीय हिसाबले थप विकास गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारले पूर्वाधार विकासमा बजेट विनियोजन गरिदिए जनहित सामुदायिक वन बागमती प्रदेशको राजधानी हेटौँडामा आकर्षक र मनोरम गन्तव्यका रुपमा विकास हुनसक्ने देखिएको छ ।



























Leave a Comment