मनहरी । मकवानपुरको मनहरी गाउँपालिका-५ स्थित बसन्तपुर आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मङ्गलबार आयोजित कार्यक्रममा समुदायमा देखिन सक्ने संक्रामक तथा अन्य स्वास्थ्य समस्याहरूको प्रारम्भिक पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायसम्म समयमै जानकारी पुर्याउने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा रोगका प्रारम्भिक संकेत तथा लक्षण पहिचान गरी तत्काल सूचना प्रवाह गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिइएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा मनहरी गाउँपालिका-५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले समुदायको सचेतना र समयमै सूचना प्रवाह भएमा सम्भावित महामारी तथा अन्य स्वास्थ्य जोखिमलाई प्रारम्भिक चरणमै नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले स्वास्थ्य संस्था, जनप्रतिनिधि र स्थानीय समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण पिएचआरडी नेपालकी नम्रता सिल्वालले गर्नुभएको थियो । उहाँले समुदायमा आधारित रोग निगरानी प्रणालीको उद्देश्य, रोगको प्रारम्भिक सूचना संकलन प्रक्रिया तथा समयमै प्रतिवेदन गर्ने अभ्यासबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन बसन्तपुर आधारभूत स्वास्थ्य केन्द्रकी अनमी रेखा कुमारी पुलामीले गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरू, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई महामारी, संक्रामक रोग तथा अन्य स्वास्थ्य जोखिमका घटनाबारे समयमै जानकारी उपलब्ध भएमा नियन्त्रण तथा रोकथामका प्रयासलाई प्रभावकारी बनाउन सकिने जानकारी दिइएको थियो ।
प्यान्डेमिक फन्ड, युनिसेफ र पिएचआरडी नेपालको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले समुदायस्तरमै स्वास्थ्य जोखिमको निगरानी, सूचना व्यवस्थापन तथा प्रतिकार्य प्रणालीलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


Leave a Comment